जानकी सम्बाददाता बिहीबार, असार १९,
२०८२ सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले पदमुक्त गरेका छन्। केही साताअघि मात्र मन्त्री बनेका चौधरीमाथि आर्थिक अनियमितताको आरोप लागेपछि उनलाई पदबाट हटाइएको हो। मुख्यमन्त्री शाहले चौधरीलाई केही दिनअघि राजीनामा दिन निर्देशन दिएका थिए। तर चौधरीले आफू दोषी नरहेको जिकिर गर्दै राजीनामा दिन अस्वीकार गरेका थिए र बर्खास्त गर्न मुख्यमन्त्रीलाई खुला चुनौती दिएका थिए। असार १८ गते बजेट पारित भएको भोलिपल्ट—असार १९ गते—मुख्यमन्त्रीले अन्ततः उनलाई पदमुक्त गरे। चौधरी हटाइएपछि मन्त्रालयको कार्यभार मुख्यमन्त्री शाहले आफैं सम्हाल्ने निर्णय लिएका छन्। यो निर्णयले प्रदेशको आन्तरिक राजनीतिको तापक्रम बढाएको छ। विपक्षी दलहरूले यस निर्णयप्रति मिश्रित प्रतिक्रिया जनाएका छन् भने चौधरी पक्षधरहरूले यसलाई ‘एकतर्फी कदम’ भन्दै विरोध जनाइरहेका छन्।