दिपक बहादुर विश्वकर्मा
असार १९
कैलालीको चुरे गाउँपालिका–४, गर्भामा अवस्थित ऐतिहासिक गर्भा दरबार अहिले भत्किँदै गएको छ। एक शताब्दी नाघ्नै लाग्दा पनि यो राणा कालीन सम्पदा राज्यको नजरमा पर्न सकेको थिएन। अब भने संघीय सरकारको ध्यान पुगेको छ।
संघीय पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डेले पहिलोपटक सार्वजनिक रुपमा दरबारको संरक्षणमा सरकार गम्भीर भएको बताउँदै हालै मात्र ४ लाख रुपैयाँ विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार गर्न विनियोजन गरिएको घोषणा गरे।

तर मन्त्रीले काठमाडौंमा चासो देखाउँदै गर्दा गर्भामा भने निरन्तर वर्षाले दरबारको भित्ता भत्किएको छ। उत्तरपूर्व भागको भित्तो झरेर अब दरबार झनै कुरुप बन्दै गएको छ।
स्थानीय केशव देउवाका अनुसार, चोरीको डरले इँटासमेत जोगाउन सकिएको छैन। स्थानीय सरकार मौन छ भने संरक्षणको नाममा खर्च गरिएका रकमले वास्तविक काम नगरेको स्थानीयको गुनासो छ।
२०५५ सालमै भत्किएको अगाडिको भित्तोबारे समाचार मातृ सन्देश अर्ध साप्ताहिकमा प्रकाशित भएको स्मरण गर्दै स्थानीयहरु भन्छन् — “२५ वर्षमा सरकारको चासो त आयो, तर दरबार बाँकी रहला जस्तो छैन।”
इतिहासका इँटाभित्र हराउँदै सम्भावना
विसं १९८२ मा सुरु भई तीन वर्षमा सम्पन्न यो दरबारमा सयौँ बटुवाको पसिना मिसिएको बताइन्छ। ८३ झ्याल, ५३ ढोका र ११ रोपनी क्षेत्रफलमा फैलिएको यो दरबार आज केही रोपनी जमिनमै सीमित भएको छ — बाँकी अतिक्रमण भइसकेको छ।
प्रदेश सरकारबाट संरक्षणको नाममा बनाइएको पर्खालले उल्टै दरबारकै जमिन खोसेकोसम्बन्धी समाचार अक्षरपाटीले अघिल्लो वर्ष नै प्रकाशित गरिसकेको थियो।
पुरातात्विक सम्पदा घोषणा भइसकेको भए पनि संरक्षणको काम भने कछुवाको गतिमा अघि बढिरहेको छ। स्थानीय पत्रकार शिवराज योगी भन्छन् —
“संरक्षण ढिला भयो भने यो सम्पदा खण्डहरमै सीमित हुनेछ। तर जिर्णोद्वार भयो भने यो ठाउँ इतिहास, पर्यटन र स्थानीय विकासको संगम बन्ने क्षमता राख्छ।”
पर्यटनको पर्याय : प्रकृति, संस्कृति र सम्भावना
गर्भा दरबार नजिकै फुल्ने लालिगुँरास, टल्किने हिमश्रृंखला, शान्त वातावरण र ग्रामीण जीवनशैलीले यो क्षेत्रलाई पर्यटकीय केन्द्र बनाउने ठुलो सम्भावना बोकेको छ।
२६–२७ डिग्रीको मध्यम तापक्रम, अग्लो डाँडामा लम्पसार पर्ने सूर्योदय, कृषि–मत्स्य–पशुपालनका सम्भावनाले यहाँ ‘ऐतिहासिक, प्राकृतिक र कृषि पर्यटन’को संयुक्त मोडल विकसित गर्न सकिने स्थानीयको धारणा छ।
पूर्वपश्चिम महेन्द्र राजमार्गको चौमालादेखि जम्मा १८–२० किलोमिटर उत्तरमा अवस्थित यो दरबारसम्म कच्ची सडक बन्ने क्रममै छ। पहुँच विस्तार सँगै यो क्षेत्र ‘हिडन जेम’ बन्ने क्षमता राख्छ।
सरकारको चासो सानो उपलब्धि, कार्यान्वयनमा ढिलाइ नहोस्
मन्त्री पाण्डेले दरबारबारे बोलेपछि सरकारको औपचारिक चासो देखिएकोमा स्वागत छ। तर वर्षासँगै दरबार भत्किन थालेको वर्तमान अवस्थाले संरक्षण कार्यमा ढिलाइ भए सम्भावना मेटिने खतरा उब्जाएको छ।
अझै समय छ —
ऐतिहासिक दस्तावेजीकरण
संरक्षणको स्पष्ट योजना
स्थानीय–प्रदेश–संघीय समन्वय
पर्यटकीय मोडल विकास
मार्फत गर्भा दरबारलाई साँस्कृतिक गर्व र आर्थिक समृद्धिको आधार बनाउने।